आफ्नो जरा बिर्सेर उड्न खोज्ने छोराको नेपाली कथा |भाग-२ | Nepali Moral Story
भाग-१ का लागि : Click Here
हर्का राम र देवी कुमारीको जीवनमा आएको यो अचानक परिवर्तनले चितवनमा हलचल मच्चायो। उनीहरूको पुरानो, जीर्ण घर अब गाउँको चर्चाको विषय बनिरहेको थियो। उनीहरूलाई हेर्न र उनीहरूको सफलताको कथा सुन्न मानिसहरु को लर्को लागिरहयो। बिस्तारै यो खबर काठमाडौंमा बसेका अरुण शर्मासम्म पनि पुग्यो। एक दिन उनले आफ्नो अफिसमा बसेर सामाजिक सञ्जाल स्क्रोल गरिरहँदा एउटा पोस्टमा आँखा पर्यो— "चितवनका हर्का राम शर्मा र उनकी पत्नी रातारात करोडपति!" त्यो समाचार पढ्दा अरुणको मनमा पहिला त आश्चर्य लाग्यो, अनि त्यसपछि लोभको आगो बल्न थाल्यो। उनले सोचे, "मेरा बुवाआमा, जसलाई मैले सधैं गरिब र हीन ठानें, आज करोडपति भएछन्? यो मेरो लागि सुनौलो मौका हो।"
अरुणले तुरुन्तै राधिकालाई यो कुरा सुनाए। "राधिका, मेरो परिवार अब धनी भएको छ। म चितवन गएर उनीहरूसँग भेट्नुपर्छ," उनले उत्साहित हुँदै भने। राधिकाले उनको कुरा सुनेर हल्का मुस्कुराइन् र भनिन्, "यो त राम्रो कुरा हो नि। तिमीले उनीहरूसँग सम्बन्ध सुधार्नुपर्छ। आखिर परिवार त परिवार नै हो।" तर राधिकाको मनमा पनि लोभको खेल चलिरहेको थियो। उनले अरुणलाई आफ्नो सफलताको कारणले मात्र माया गर्थिन्, र अब उनको परिवारको धनले यो सम्बन्धलाई अझ बलियो बनाउने उनको दिमाग सोच आउन थाल्यो।
अरुणले चितवन जाने योजना बनाए। उनले आफ्नो पुरानो घमण्ड र रिसलाई एकछिन थाती राखेर बुवाआमालाई फोन गरे। धेरै महिनापछि उनको आवाज सुनेर देवी कुमारीको आँखा रसाए। "अरुण,मेरो छोरा! तिमीले बल्ल हामीलाई सम्झियौ?" उनले भावुक हुँदै सोधिन्। अरुणले नक्कली प्रेम स्वरमा भने, “आमा, म निकै व्यस्त थिएँ। तर अब म फर्किंदैछु। तपाईंहरूलाई भेट्न मन लाग्यो।" हर्का रामले फोनमा केही बोलेनन्, तर उनको मनमा शंका पलायो। उनी छोराको स्वभाव राम्ररी चिन्थे।
केही दिनपछि अरुण चितवन आइपुग्यो। उसले महँगो सूट लगाएको थियो, हातमा ब्रान्डेड घडी र गाडीको चाबी झुन्ड्याएर बुवाआमाको घरमा प्रवेश गर्यो। घरको अवस्था देखेर ऊ छक्क पर्यो। पुरानो फुसको छानो र माटोको भित्ता अझै उस्तै थियो। "यो त ठीक छैन," उसले मनमनै सोच्यो। "उनीहरू करोडपति भएर पनि यस्तो सानो घरमा बस्छन्?" उसले आफ्नो भावना लुकाउँदै बुवाआमालाई अँगालो हालेर भन्यो, "बुवा, आमा, मलाई माफ गर्दिनुहोस। मैले तपाईंहरूलाई धेरै दुख दिएको छु। अब म फर्किएँ। हामी सँगै बसौं।"
आमा को मन न पर्यो, देवी कुमारीको मन पग्लियो। उनले छोराको कुरा सुनेर खुसीको आँसु झारिन्। तर हर्का राम चुपचाप बसेर अरुणको हरेक शब्द र हर्कतलाई नियालिरहेका थिए। उनले भने, "अरुण, हामीले तँलाई सधैं सम्झियौं। तर तैंले हामीलाई बिर्सियौ। अहिले हाम्रो पैसा देखेर फर्किएको होइनौ त?" यो प्रश्नले अरुणको अनुहार रातो भयो। उसले हाँस्दै भन्यो, "बुवा, तपाईंले कस्तो कुरा गर्नुभयो? म तपाईंहरू को मायाले फर्किएको हुँ।"
केही दिनसम्म अरुण चितवनमै बस्यो। उसले बुवाआमालाई खुसी पार्न हरसम्भव कोसिस गर्यो—मिठो खाना बनायो, पुराना कुराहरू सम्झियो, अनि उनीहरूलाई काठमाडौंमा नयाँ घर किन्ने प्रस्ताव पनि राख्यो। तर हर्का रामको मनमा शंका कायमै थियो। एक दिन उनले अरुणलाई सोधे, "तैंले हाम्रो सम्पत्तिको बारेमा कुरा किन उठाउँदैनस्? तँ यहाँ किन आएको हो, साँचो कुरा भन।" अरुणले हडबडाउँदै भन्यो, "बुवा, म केवल तपाईंहरूसँग समय बिताउन आएको हुँ। पैसाको कुरा मैले सोचेकै छैन।"
तर सत्य धेरै टाढा थिएन। एक साँझ अरुणले राधिकालाई फोनमा कुरा गरिरहेको बेला हर्का रामले सुने। "राधिका, म यहाँ सबै ठीक गरिरहेको छु। चाँडै नै यो सम्पत्तिको हिस्सा हाम्रो हातमा हुनेछ," अरुणले हाँस्दै भने। यो सुनेर हर्का रामको मन-मुटु टुक्रियो। उनले देवी कुमारीलाई सबै कुरा सुनाए। देवी कुमारी भावुक भइन्, तर उनले पनि अरुणको नियत बुझिन्। उनीहरूले छोरालाई माया गर्थे, तर उनीहरू अब उसको लोभको शिकार बन्ने पक्षमा भने थिएनन्।
हर्का रामले आफ्नो पुरानो साथी, एक वकिललाई भेटे। उनले ४० वर्षअघिको लगानीको कागजपत्रहरू देखाए र आफ्नो सम्पत्ति सुरक्षित गर्ने योजना बनाए। वकिलले सुझाव दिए, "तपाईंले आफ्नो सम्पत्तिको आधा हिस्सा दान गर्न सक्नुहुन्छ, र बाँकी हिस्सा तपाईंको नाममा ट्रस्ट बनाएर राख्न सक्नुहुन्छ। यसले अरुणलाई कानुनी रूपमा केही दाबी गर्नबाट रोक्छ।" हर्का राम र देवी कुमारीले यो योजना मन पराए। उनीहरूले आधा सम्पत्ति चितवनका गरिब विद्यार्थीहरूको शिक्षाको लागि दान गर्ने निर्णय गरे, र बाँकी पैसाले आफ्नो लागि एउटा सुन्दर घर बनाउने सोचे।
यता अरुण भने आफ्नो योजनामा मग्न थियो। उसले सोच्यो, "म बुवाआमालाई मनाएर उनीहरूको सम्पत्तिको हिस्सा लिन्छु। यदि उनीहरूले दिएनन् भने, म कानुनी बाटो अपनाउँछु। यो मेरो हक हो।" तर उसलाई थाहा थिएन कि उसको बुवाले पहिल्यै सबै कुराको बन्दोबस्त गरिसकेका थिए।
क्रमश: भाग-३