आफ्नो जरा बिर्सेर उड्न खोज्ने छोराको नेपाली कथा |भाग-१| Nepali Moral Story
चितवनको व्यस्त सहरमा एउटा सानो तर रमणीय घर थियो, जहाँ हर्का राम शर्मा र उनकी पत्नी देवी कुमारी शर्मा बस्थे। यो जोडीले आफ्नो जीवनको अधिकांश समय गरिबी र संघर्षमा बिताएका थिए, तर उनीहरूको मनमा एउटै सपना थियो आफ्ना छोरा अरुण शर्मालाई राम्रो शिक्षा र उज्ज्वल भविष्य दिने। अरुण उनीहरूको एक्लो सन्तान थिए, र उनीहरूले आफ्नो छोराका लागि आफ्ना सबै सुख र सुविधाहरू त्यागेका थिए। हर्का रामले दिनरात खेतमा काम गर्थे, भने देवी कुमारीले घरको खर्च जोगाउन सानो सिलाइको काम गर्थिन्। उनीहरूको मेहनत र त्यागले अरुणलाई काठमाडौंको एक प्रतिष्ठित विश्वविद्यालयमा चार्टर्ड एकाउन्टेन्सी (सीए) पढ्ने अवसर दिलायो।
अरुण सानैदेखि महत्वाकांक्षी थिए। उनलाई आफ्नो परिवारको गरिबी र सादा जीवनशैलीप्रति कहिल्यै रुचि थिएन। गाउँका साथीहरूले उनलाई "हर्का रामको छोरो" भन्दा उनको मनमा लाज र सरमको भावना आउँथ्यो। उनी सोच्थे, "म यस्तो सानो ठाउँ र यस्ता साधारण मान्छेहरूको बीचमा बस्नको लागि जन्मिएको व्यक्ति होइन।उनको मनमा एउटा सोच आयो, "म जहिले ठूला कुरा गर्नेछु,र ठूलो मान्छे बन्नेछु।" उनको यो सोचले उनलाई पढाइमा अझ मेहनत गर्न प्रेरित गर्यो, र अन्ततः उनले सीए को परीक्षा उत्तीर्ण गरे। त्यसपछि उनले चितवन छोडेर काठमाडौंको एउटा ठूलो बैंकमा जागिर पाए। यो उनको जीवनको पहिलो ठूलो सफलता थियो, र उनले यो अवसरलाई आफ्नो पुरानो जीवन र आफ्नो बुबा-आमाबाट टाढा भाग्ने माध्यमको रूपमा प्रयोग गरे।
जागिर पाएको केही महिनापछि अरुणले आफ्ना बुवाआमासँग सम्पर्क टुटाए। उनले बिस्तारै फोन उठाउन छोडे, उनीहरूले पठाएका चिठीहरूको जवाफ पनि दिएनन्। हर्का राम र देवी कुमारीले छोराको यो व्यवहार देखेर निकै दुखी भए, तर उनीहरूले सोचे, "सायद ऊ आफ्नो करियरमा व्यस्त छ। हामीलाई सम्झने फुर्सद नै छैन होला।" उनीहरूले आफ्नो मन तेसरी बुझाए, र आशा गरे कि एक दिन अरुण फर्केर आउनेछ। तर अरुणको मनमा त्यस्तो कुनै भावना थिएन। उनले आफ्नो विगतलाई पूर्ण रूपमा मेटाउन चाहन्थे। उनको नयाँ जीवन काठमाडौंमा सुरु भयो, जहाँ उनले धनी र प्रभावशाली मानिसहरूसँग संगत गर्न थाले।
काठमाडौंमा अरुणको भेट एक धनी युवती, राधिका थापासँग भयो। राधिका एक व्यापारी परिवारकी छोरी थिइन्, जो सधैं विलासी जीवनशैलीमा रमाउँथिन्। उनलाई अरुणको महत्वाकांक्षा र बैंकको प्रतिष्ठित जागिरले प्रभावित गर्यो। अरुण पनि राधिकाको सुन्दरता र उनको धनसम्पत्तिबाट मोहित भएका थिए। केही समयको चिनजानपछि उनीहरू प्रेममा बाधिए, र अरुण राधिकासँगै उनको आलिशान अपार्टमेन्टमा बस्न थाले। राधिकाले अरुणलाई महँगा कपडा, घडी र गाडीहरू उपहार दिइन्, र अरुणले आफूलाई कहिल्यै नसोचेको उचाइमा पाए। उनले सोचे, "यो नै मेरो असली जिन्दगी हो। अब म फर्केर त्यो गरिबीको जीवनमा कहिल्यै जाँदिन।"
यता चितवनमा हर्का राम र देवी कुमारी आफ्नो साधारण जीवन बिताइरहेका थिए। उनीहरूले ४० वर्षअघि एउटा सानो जलविद्युत् कम्पनीमा थोरै पैसा लगानी गरेका थिए। त्यो समयमा यो लगानी उनीहरूको लागि ठूलो जोखिम थियो, तर उनीहरूले अरुणको भविष्यको लागि केही सम्पत्ति जोड्ने आशा राखेका थिए। त्यो कम्पनीले लामो समयसम्म खासै प्रगति गरेन, र उनीहरूले पनि त्यसलाई बिर्सिसकेका थिए। तर समयले अचानक परिबर्तनको पल्टा खायो। ४० वर्षपछि त्यो जलविद्युत् कम्पनीले ठूलो परियोजना सुरु गर्यो, र त्यसको सेयरको मूल्य आकाशियो। हर्का राम र देवी कुमारीको सानो लगानी रातारात करोडौंमा परिणत भयो। उनीहरू एकाएक करोडपति बने।
यो खबर चितवनभरि फैलियो। गाउँलेहरू उनीहरूलाई बधाई दिन आउन थाले। हर्का राम र देवी कुमारीलाई यो सबै सपना जस्तो लागिरहेको थियो। उनीहरूले आफ्नो जीवनको अधिकांश समय अभावमा बिताएका थिए, तर अब यो धनले उनीहरूलाई नयाँ जीवनको आशा दियो(पलायो)। तर उनीहरूको मनमा एउटा कुराले सधैं पिरोलिरह्यो—उनीहरूको छोरा अरुण। उनीहरूले सोचे, "अब त अरुण हामीलाई सम्झन्छ होला। ऊ फर्केर आउँछ होला।" तर अरुणको मनमा अझै पनि उही घमण्ड र लोभ थियो, जुन चाँडै नै उजागर हुने वाला थियो त्यो खबर पछि।
क्रमश: भाग-२
फुल स्टोरी :आफ्नो जरा बिर्सेर उड्न खोज्ने छोराको नेपाली कथा|Nepali Moral Story | Full Story