माया र अनिश्चितता: ऋषिकेशको छोटो यात्रा, जीवनभरको सम्झना
त्यो छुक्चुके रेल,अनौठा मान्छेहरु र रेलको गतिसँगै ऋषिकेश पुगेका हामी चार जना साथीहरु। हामी चार जना साथी--हरि, कैलाश, अमर र म, दशैँ-तिहारको बिदामा घुम्नको लागि भारतको ऋषिकेश पुगेका थियौं। जुन भारतको उत्तारखंड परदेश उच पहाडी भेग मा ईस्तिर छ। मनमा उत्साह र उमंग बोकेर हामी गंगा नदीको छालमा राफ्टिङको मजा लिन आतुर थियौं। हाम्रो समूहमा हामी चार जना मात्रै थियौं, तर राफ्टिङको टोली पूरा गर्न अरू तीन जना केटीहरू पनि हाम्रो राफ्टमा सामेल भए। तिनीहरूको नाम थियो—नेहा, प्रीति र सिम्रन। उनीहरू पनि घुम्नकै लागि भारतकै मध्यप्रदेशबाट आएका रहेछन्।
आनौठो उत्शाहित संगै, राफ्टिङ सुरु भयो। म र अमर सबैभन्दा अगाडि बसेका थियौं। गंगा नदीको छालसँगै हाम्रो राफ्ट उफ्रिरहेको थियो। हाँसो, चिच्याहट र पानीको छिटाले हामीलाई रमाइलोको शिखरमा पुर्याइरहेको थियो।
एक ठाउँमा पुगेपछि राफ्टिङ दाइले "प्याडल रोक्नू" भने। त्यो बेला म पछाडि फर्केर हेरेँ। संयोगले मेरो आँखा प्रीतिसँग ठोक्कियो। उनको आँखामा पनि एउटा अनौठो चमक थियो। हामी दुवैले एकअर्कालाई हेर्यौं, अनि हाँस्दै परिचय गर्न थाल्यौं। "हाय, म प्रीति," उनले मुस्कुराउँदै हिन्दीमा भनिन्। "म पनि,"हतारिएर नेपालीमा जवाफ दिएँ, अनि हाँस्यौं। त्यही छोटो क्षणबाट हाम्रो कुराकानी सुरु भयो।
हाम्रो भाषा फरक थियो—हामी नेपाली बोल्थ्यौं, उनीहरूलाई भने हिन्दी आउँथ्यो। तर रमाइलो कुरा के भने, हामीले उनीहरूलाई बिस्तारै नेपाली सिकाउँदै गयौं। "यो पानी हो," "केटा-केटि," "कस्तो छ" जस्ता स-साना शब्दहरू सिकाउँदा उनीहरू हाँस्दै सेता दात देखाउथिये, अनि हामीलाई पनि मजा लाग्थ्यो। हामीलाई चाहिँ भारतीय फिल्महरू हेर्ने बानीले हिन्दीचाहिँ हल्का आउँथ्यो। त्यसैले कुराकानीमा हिन्दी र नेपाली मिसाएर बोल्थ्यौं, जसले हाम्रो सम्बन्धलाई झन् रोचक बनाउदै गयो।
राफ्टिङको त्यो दिन हामी सातै जनाले खुब रमाइलो गर्यौं। पानीको छालसँगै हाम्रो हाँसो पनि बगिरहेको थियो। त्यसपछि हामीले ऋषिकेशमा बाँकी दुई दिन सँगै बितायौं। तिनीहरू तीन जना र हामी चार जना—सातै जनाको टोली झरनाहरूमा रमाउँदै, गंगाको किनारमा आरती हेर्दै अनि स्थानीय खानाको स्वाद लिँदै समय बितायौं। प्रीतिसँग मेरो कुराकानी बिस्तारै गहिरो बन्दै गयो। उनको हाँसो, उनको बोल्ने शैली र उनको सादगीले मलाई लोभ्याइ रहेको थियो। माया भनेरै भनौं कि, उनको नजिक हुने चाहना मनमा पलाउँदै गयो।
तीन दिनको त्यो छोटो समय यति छिटो बित्यो कि हामीलाई पत्तै भएन। अन्तिम दिन हामीले एकअर्कालाई बिदाइ गर्यौं। प्रीतिसँग बिछोडको क्षणमा मेरो मन भारी भयो। हामीले इन्स्टाग्राममा एकअर्कालाई फलो गर्यौं र बिदाइको हात हल्लायौं। "फेरि भेटौंला नि, है?" उनले हल्का मुस्कानसहित हिन्दीमा भनिन्। "जरुर," मैले नेपालीमा जवाफ दिएँ, तर मनमा एउटा अनिश्चितताको बादल मडारिरहेको थियो।
घर फर्केपछि पनि हाम्रो कुराकानी जारी रह्यो। इन्स्टाग्राममा म्यासेजहरू आदानप्रदान भइरहन्थे। कहिलेकाहीं फोनमा पनि कुरा हुन्थ्यो। उनको हिन्दीमा मिसिएको मीठो आवाज सुन्दा मन शान्त हुन्थ्यो, तर एउटा डरले सधैं सताइरहन्थ्यो। हामी दुई फरक देशका थियौं—म नेपालको, उनी भारतको। त्यसमाथि जात र संस्कृतिको भिन्नता पनि थियो। यी कुराहरूले हाम्रो सम्बन्धलाई कहाँ पुर्याउँछ भन्ने चिन्ता मनमा उब्जिरहन्थ्यो।
"आपको में प्यार कर्ती हु," एक दिन उनले म्यासेजमा लेखिन्। मेरो मनले पनि त्यही भनिरहेको थियो, तर जवाफमा मैले "म पनि" मात्र लेखेँ। माया त थियो, तर त्यो मायालाई पूरा गर्ने बाटो कहाँ छ भन्ने कुराले मलाई पिरोलिरह्यो। हाम्रो कुराकानीमा कहिलेकाहीं भविष्यको कुरा निस्कन्थ्यो। "के हाम्रो कथा यत्तिकै सकिन्छ कि?" उनले एक दिन हिन्दीमा सोधिन्। मैले हाँसेर टारेँ, तर भित्रभित्रै मलाई पनि त्यही डरले पोली रहन्थियो।
ऋषिकेशको त्यो छोटो भेटले हामीलाई जीवनभरको सम्झना दियो। गंगा नदीको छालजस्तै हाम्रो माया पनि कहिले उफ्रिरह्यो, कहिले शान्त भयो। तर देश, संस्कृति र परिस्थितिको बन्धनले हामीलाई बाँधिरह्यो। आज पनि हामी कुरा गर्छौं, माया गर्छौं—कहिले नेपालीमा, कहिले हिन्दीमा। तर यो कथा कहाँ गएर टुंगिन्छ भन्ने कुरा समयले नै बताउनेछ। सायद हाम्रो माया अधुरै रहन्छ, सायद कुनै चमत्कार हुन्छ—यो कुरा अहिलेसम्म अनिश्चित छ। तर जे भए पनि, ऋषिकेशको त्यो यात्रा र प्रीतिसँगको सम्झना मेरो मनमा सधैं अमर रहनेछ।
हजुरहरूलाई यो नेपाली कथा कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया कमेन्टमा लेख्न नभुल्नुहोला। यस्तै कमेन्ट लेख्नाले हामीलाई अझै यस्ता कथाहरु लेख्न उत्साहित गर्छ।
।।।धन्यवाद।।।